अन्तरवार्ता/दृष्टिकोण

मे आइ कमिङ्ग सर


दीपक विश्वकर्मा

लेखन भावनात्मक् उद्वेग मात्र होइन । सामाजिक, आर्थिक, राजनैतिक यथार्थ समेत हो । कार्ल माक्र्सको मुख्य सार नै — चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे जति विश्व प्रसिद्घ रचनाहरु लेखिएका छन्, सबैका सबै आ—आफ्नो परिवेष संग संबन्धित् रहेर लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोगाई लेख्दैन । आजकै दुःख, दर्द, हाँसो, खुसी र उन्माद लेख्ने गर्दछ । बाँझो खेतबारीको कथा लेख्ला । लाहुरमा भाँडा माझेको कहानी नजुराएर काफिलाको परिबन्धको बृतान्त कहला । सान्नानीले बम्बै कलकत्ताका कोठीको कहानी नजुराउली । अरवका सेखहरुका खुनी पञ्जाको रक्तरञ्जित कथा आँसुको मसीले लेख्ली ।
अतित मिठो होस् या नमिठो सबैलाई मिठो लाग्दछ । आमाको काख, बाबाको अंगालो, दिदीको स्नेह, भाइबहिनीको तोतेबोली, गुरुको चड्कन, साथीभाइको ख्यालठट्टा जस्ता अतितका भोगाईहरु फेरि दोहोरिदैनन् । त्यसैले यी सबै संझनामा पनि बहुतै आनन्ददायक हुन्छन् ।
संझना सबै संझनामा रहिरहँदैनन् । सनै सनै अतितहरु अतित बन्दै जान्छन् र एकदिन नामेटै भएर हराउँछन् । नामेट हुनुभन्दा पहिले संझनाले कहिनकहीँ कतै न कतै पिरोल्ने गर्दछ । हामी सबै पुनः एकपटक फर्केर बालापनमा जाने मौका पाउने हो भने के गर्दा हौं ? यदी मलाई सो अवसर प्राप्त हुँदो होत सिधै कान्छाबाको मझेरीमा लुकिछिपि पस्ने थिएँ । मही पार्न ठिक्क पारेको दहीकोठेकीमा हात घुसाउने थिएँ र जमेको तरको चाको कपाकप खाँदै बाहिरिने थिएँ । वा ! त्यो बिछट्टको स्वादको बखान कसरी गर्नु ? पुराणका कृष्ण कन्हैयाले त्यही दहीको तर खाएर त होला, बृन्दावनका सोह्रसय गोपिनीहरुलाई नचाउन सकेको ।
कहिलेकसो संझनाले पिरोल्छ पनि मान्छेलाई । यसको आफ्नै मनोवैज्ञानिक ब्याख्या होला । अथवा यो मनोविश्लेषणको कुरो पनि हुन सक्छ । मानिस जहिल्यै अतृप्त हुन्छ किन ? भोली टिपौला भनेर साँचेको फल बिहानै चराले खाइदिन्छ, भोली खेताला लगाउन ठिक्क पारेको खरबारीमा राती नै डढेलो लागेको लाग्न सक्छ, अधकल्चो निद्रामा फुरेको बेजोड कविता भोलीको दिन छँदैछ, बिहानै लेखुला भनेर बिस्मृतिको ख्याल नगर्दा बिहान उठेर लेख्न बस्दा छेउँटुप्पो सबै बिर्सिएको हुन्छ, भोली लाउँला, भोली हेरौला, भोली गरौला, भोली भनौला भन्दा भन्दै भोली कहिल्यै नआउन सक्छ ।
मेरो एकजना लंगौटिया यार कसैको प्रेममा भुतुक्कै भएछ । थोरैधेरै संकेत उताबाट पनि पाएको कुरो गर्दथ्यो । नजिकिन अनेकौ बहाना बनाउँथे दुबै । अनेक कुरा गर्दथे, घरका, बनका, बाका, आमाका, भाइका, बहिनीका, छिमेकीका । मौका मिलेसम्म लामो समय गुजार्थे संगै बसेर । तर, अन्तिमसम्म पनि एकअर्का प्रति अगाध प्रेमिल आकर्षण रहुँदा रहँदै पनि एकथुंगा गुलाफको फूल प्रेमको बन्धन स्वरुप आदानप्रदान गर्नै सकेनन्, लाजले, सर्मले र समाजिक परिवेशले सिर्जना गरेको संकोचको कारणले ।
आज म सोँच्छु, पक्कै पनि मेरो लंगौटिया यारलाई अतितले बेजोड झस्काउँदो हो । अथवा सो बेलाकी ती मित्रकी प्रियतमालाई पनि कुटुमा कुटु मन अमिलो हुने गरि संझना आउँदो हो । खाना खाँदै गरेको श्रीमानको चेहारामा मेरो यारको प्रतिबिम्ब खोज्दिहुन् कहिलेकसो । हुर्किरहेका छोराछोरीलाई कल्पनाको परिधि नाघेर लोग्नेको चेहराभन्दा पृथक कल्पना गर्दिहुन् । थक्थकी लाग्दो हो, जावो एकथुंगा गुलाफको फूल पनि मनको कुनामा बसिसकेको मान्छेको हातमा थमाउन नसकेकोमा । लोग्नेको थालमा भात थप्दाथप्दै हात टक्क अडिदाहुन् कहिलेकाहीँ । सो बेला लोग्नेले कटाक्षा गर्दो हो, हैन कस्लाई संझदैछौ हँ ? बटुकोमा दालै खन्याउन बिर्सेर ?
बिर्सने लाख कोशिश गर्दा पनि कुनैकुनै कुराहरु बारंबार संझनामा आइरहन्छन् । “अब गाईबाख्रा चराउनी हुम्, अब स्कूल जान्न” भनेर एक वर्षमा च्वाङ्गखोला, ढाँडा र रोलखोलामा भएको एउटा गाईको पुच्चर समाएर गोठालो लागेँ । दाउरा घाँस भने खुब काँटे । डोकोको कुहिएको पीँध छिचोलेर बञ्चरो झरेर पिडुलामा लामो घाउ भयो । बालाई सधैभरिको भ्याइनभ्याइ, दबाई गराउन अस्पताल जान भ्याएनन् । गुरु टिकारामा पन्थीको गाउँ नजिकैका एकजना सार्कीबाले डोकोमा बोकेर तम्घास जिल्ला अस्पताल पु¥याए मलाई । घाउ निकै ठूलो थियो । कम्पाउण्डरले नदुख्ने सुई लगाएर घाउमा टाँका लगाइदिए । तर अस्पताल भर्ना भएर अनुभव संगाल्ने मेरो निकै पुरानो अभिलाषा चकनाचुर भयो, जब डल्ले सार्कीबाले डोकोमै बोकेर बाख्रेछेडाको उकालो चढाउँदै घर पु¥याए । भर्ना भएर अस्पतालको बेडमा सुत्ने, त्यहीँकै थालमा खाने, स्लाइन पानीको सुई नाडीहातको नसामा घुसाउने मेरो कयौं दिनको सपना सपना मात्रै भयो । त्यो संझनाले आजसम्म पनि मलाई पिरोल्छ । यद्यपि जीवनमरणको दोसाँधमा गुवाहाटीको खेत्रीबाडी मिसन अस्पतालमा म हप्तादिन बसेको छु । तर, पनि बालसुलभ मनोकांक्षा पुरा नभएकोमा आजपनि थक्थकी लागिरहने गर्दछ ।
“अब स्कूल पढ्दिन, गाईबाख्रा चराउनिहुम्” भन्ने मेरो आत्मघाती निर्णयलाई बाआमाले किन तत्कालै प्रतिवाद गरेनन् ? खै, किन गरेनन् । बाआमा जीवित रहेसम्म सोधिन र सोधेर पनि हुनेवाल केही थिएन । त्यसैले सोधिन । तर, मेरो त्यस आत्माघाती निर्णयको अप्रिय घटनाले निम्त्याएको दुष्परिमाणले आजसम्म पनि सताउन छोडेको छैन । भयो के भने संगैका साथीहरु एक कक्षा माथी उक्लिसकेपछि अर्को वर्ष मलाई बाले पुनः स्कूल भर्ना गरिदिए । भर्ना भइवोरी कक्षाकोठामा प्रवेश गर्दा “मे आई कमिङ्ग सर” भनेर अनुमति लिनु पर्निे प्रक्रियालाई मेरो एकवर्षको गोठाले बद्घीले खाइदिएछ । गुरु भेषबहादुर कुँवर कक्षा शिक्षक हुनुहुन्थ्यो रेसुङ्गा प्राथकिम विद्यालयको कक्षा तीनमा । उहाँले पढाइरहनु भएको थियो म कक्षामा प्रवेश गर्दा । म सरासर गएर गुन्द्रीमा बसे । बस, के चाहियो भेषबहादुर सरलाई ? उहाँको रिसको पाराले आकाश छोएछ । अनेक कथा, कहानी, जुराउँदै मलाई भकुर्न थाल्नु भयो । यति भकुर्नु भयोकी म मुर्छित अवस्थामा पुगेको थिए । कति वर्षको पो थिएँ र सो बेला ? तीन कक्षाको कुरो हो । छ वर्षमा स्कूल भर्ना भएको भएपनि नौ वर्षको हुँदो हुँ । अथवा कक्षा हापेको हुनाले दश टेकेको हुँदो हुँ । पछि महेन्द्र हाइस्कूलमा आएपछि पदम सर र थुम्काका मास्टरको लौरोको चुटाई बाहेक संझनामा अरु चुटाई छैनन् । पदम सर र थुम्काका मास्टरको चुटाई सामुहिक हुन्थ्यो । जाडोमा घाम ताप्न चौरमा निस्केको निहुमा वा क्लासमा हल्ला गरेको निहुमा । यसैले उहाँहरुको चुटाई आजपनि मिठासपूर्ण लाग्दछ ।
रेसुङ्गा प्राथमिक विद्यालयका धेरै कुरा बिर्से । “होला बरै सान्नानी” को झ्याउरे भाकामा पहिलोपटक शुक्रबारे साहित्यिक कार्यक्रममा गीत गाएको संझना छ । कक्षा पाँचमा पढ्दा सहपाठी जयकाली संग भनाभन हुँदा स्कूल अफिस पछाडिको तामाखानीको खाल्डोमा धकेलिदिएको धुर्मेलो संझना छ । त्यो खाल्डे धकेलाईको प्रतिफल पनि गतिलै प्राप्त गरेको थिएँ मैले । घटना पछि आधा दिनकोलागि गुरु चिरञ्जिबी मरासिनीले रेस्टिकेटको फैसला सुनाएको भने राम्ररी याद छ । यद्यपि गल्ती मेरो मात्र थिएन । स्कूलमा बच्चाबच्चीको बीचमा झगडा त भइनै हाल्छ । झगडा हात हालाहालको स्थितिमा पुग्नु भनेको दुबैको रिसको आवेगको परिमाण थियो सायद । नजिकै खाल्डो थियो, हात हालाहालमा खाल्डोमा परिन जयकाली सजायँ भने मैलेमात्र पाएँ । तर यस संझनाले मलाई त्यति ममाृहत पार्दैन जति गुरु भेषबहादुर कुँवरको भकुराइले पार्ने गर्दछ ।
जीवनमा यावत घटनाहरु संझनालायक हुँदैनन् र हुनुहुदैन पनि । तर गुरु भेषबहादुर कुँवर सरको भकुराई किल्यै बिर्सन नसकुँला । किनकी त्यो भकुराई बडो गज्जवको थियो र अन्तिम पनि । अन्तिम भकुराई यसकारणले की त्यसपछिका दिनहरुमा बिर्सनलायक भकुराइको सामना गर्नु परेको छैन ।
मेरो आफ्नै परिवेषले मलाई गाई चराउने गोठालाको बुद्घी सिकायो । मभन्दा केही जेठा, समवयका तथा कान्छा केटाकेटीहरु पनि स्कूल नगएको मैले देखेको थिएँ । मेरी दिदी म भन्दा तीन वर्ष जेठी हुन् । बहिनी तीन वर्ष कान्छी हुन् । उनीहरु पनि त स्कूल गएका थिएनन् । पल्लो टोलका परियार मामाहरुका छोराछोरीहरु पनि स्कूल जाँदैनथे । हाम्रै टोलमा पनि सबै केटाकेटी कहाँ स्कूल भर्ना भएका थिएर ? स्कूल जाने भनेको म र गणेशदाइ मात्र न हो । त्यसैले पनि सोँचको विकास भयो ममा—नपढेपनि त हुँदो रहेछ । यी सबै भौतिक परिस्थितिले मलाई स्कूल नजाने चेतनाको निर्माण गर्न सहयोग पु¥यो ।  
परिस्थिति, परिवेश, बस्तुस्थितिले जब भौतिक रुप लिन्छ, त्यसै अनुरुप मानिसको चेतनाको निर्माण हुन्छ । भयो पनि त्यस्तै, म गोठालो बने एक वर्ष । एउटा माली गाईको पुच्छर निमोठ्दै साउनेको जंगलसम्म पुगेँ । दाउरा काटे । घाँस काटे । हल्लिएर एक वर्ष बिताए । बञ्चरोले पिँडुला कटाएर जीवनभरलाई दागी बनाएँ । अस्पताल भर्ना भएर बिरामीलेखाने खाना खाने रहर भने पुरा गर्न सकिन । अर्को वर्ष बाले गाई बिक्री गरेर ब्याउनी  भैसी ल्याए भकारोमा बाँध्न । बाख्राको पनि दिशापासा भयो । मेरो बनजाने मेसो हरायो । लाहुर जाने उमेर भएको थिएन । यिनै परिवोशमा बाले फेरि स्कूल भर्ना गरिदिए अघिल्लो वर्ष छोडेको कक्षा तीनमै । सो एकवर्षे गोठालो जीवनले मलाई कक्षा कोठामा प्रवेश गर्दा “मे आइ कम सर” भन्न बिर्साएछ । परिमाणतः गुरु भेषबहादुर कुँवरबाट आजसम्म पनि झट्का दिइरहने हजार भोल्टको भकुराइ प्राप्त गरे । कठै ! स्कूल नछोडेको भए हुने । दुई वर्ष पहिले यसयलसी पास हुँदो हुँ । जयकालीसंग झगडा नगरेको भए हुने । आधादिन भएपनि रेष्टिकेट हुन पर्ने थिएन । कक्षाकोठामा प्रवेश गर्दा अनुमति मागेको भए हुने । कुँवर सरको रामधुलाई खानु पर्ने थिएन ।
संझना, बिर्सनाका यी अनमोल रत्नहरु संयोजन भएर बसेका छन् । मनको एक कुनामा । जीवनप्रयन्त सायद पिछा छोड्ने छैनन् ।
साभारः बुटवल टुडे
 

 

 

प्रतिकृया दिनुहोस