राष्ट्रिय

मन्त्रीलाई भैँसेपाटीमा नयाँ क्वाटरको व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय, भीआइपीलाई ४१ भवन बनाउँदै सरकार

काठमाडौं ।
सरकारले ललितपुरको भैँसेपाटीमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा उपसभामुखसहित मन्त्रीहरुका लागि नयाँ भवन निर्माण गर्ने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ललितपुर महानगरपालिका सैबु भैँसेपाटीमा रहेको सैबु आवास क्षेत्रमा रहेको १४९ रोपनी चार आना ३।२८ दाम जग्गामा भीआइपीका लागि ४१ वटा भवन बनाउने निर्णय गरेको हो।
सांसद आवासका लागि छुट्याइएको सो जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखसहित मन्त्रीहरुका लागि २७ वटा आवास भवन बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यस्तै सोही स्थानमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरिएको छ। सातै प्रदेशका मुख्मन्त्री र प्रदेश प्रमुखहरुका लागि पनि यहाँ आवास तयार हुने छ।
हाल प्रतिनिधि सभाका सभामुखका लागि बालुवाटारमा आवास छ। राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष भनेका लागि पनि छुट्टै आवास निर्माण गर्ने तयारी भएको हो। त्यस्तै मन्त्रीहरुका लागि हरिहरभवन पुलचोकमा मन्त्री क्वाटर छन्। उनीहरुका लागि पनि भैँसेपाटीमा आवास निर्माण गरिने भएको हो।
हाल मन्त्री क्वाटर रहेको परिसरमा सरकारले १० वटा राजकीय अतिथि गृह स्टेट गेस्ट हाउस निर्माण गर्ने तयारी गरेको छ। स्टेट गेस्ट हाउसका लागि मन्त्रि निवास परिसरको जग्गा अपर्याप्त भए नजिकै रहेको नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा प्रयोग गर्ने निर्णय भएको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस