अर्थ/वाणिज्य

लुम्बिनी एक्स्पो : पर्यटनको ठोस विकासमा लगाउन आग्रह

बुटवल ।
बुटवलको विकास र संवद्र्धनका लागि यस क्षेत्रको एतिहासिक कला संस्कृतीको संरक्षणसंगै पर्यटनको विकासमा ठोस काम गर्न सुझाव दिइएको छ । अंग्रेजलाई पराजित गरेको जितगढी किल्लाको महत्वका बारेमा आम सर्वसाधारणहरुलाई जानकारी कम भएको हुदा त्यसको सहि सदुपयोग गर्न नसकेको प्रति सचेत हुदै त्यसलाई पर्यटनसंग जोडेर रुपन्देही व्यापार संघले ठोस काम गर्न सुझाइएको हो ।
रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि बुटवलमा आयोजना हुन लागेको लुम्बिनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेलाको तयारीका क्रममा आज बुटवल मण्डपमा मेला सल्लाहाकार, आजिवन सदस्य, भूपू कार्यसमिति सदस्यहरुसंगको छलफलका क्रममा पर्यटनको विकास तथा प्रसारप्रसारमा ठोस टेवा पुग्ने गरि संरचनागत काम गर्न बक्ताहरुले सुझाव दिएका थिए । उनीहरुले मेलालाई आर्थिक उपार्जन तथा रमाइलो गर्ने थलोका रुपमा मात्र होइन त्यसबाट हुने आम्दानीबाट केही रकम छुट्याएर पर्यटन क्षेत्रमा स्थाई संरचनागत काम गर्न सकेमा उपलब्धिमुलक हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै संघका सल्लाहाकार सूर्यप्रसाद भट्टराईले बुटवलको विकासका लागि यस क्षेत्रको पर्यटनको विकास जरुरी भएको बताउदै बुटवललाई संग्रालयका रुपमा स्थापित गर्न आग्रह गर्नुभयो । उहाले लोप हुदै गरेका हाम्रा संस्कार संस्कृत र परम्परालाई नया पुस्तालाई इतिहासको पढाईका रुपमा चिनाउन सक्नु पर्ने धारणा राख्नु भयो ।
सल्लाहाकार ऋषिबहादुर भण्डारीले मेलालाई नया पन दिनका लागि उपभोक्ताहरुको चाहानामा ध्यान दिन आग्रह गर्नु भयो । सल्लाहाकार डा। रोहिराज क्षेत्रीले जितगढीको पहिचान झल्कने गरि मण्डपमा बनाउन लागिएको पार्कले प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मेलामा आएका सुझावलाई ग्रहण गरि सुधारका काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा मेला प्रवेश टिकटबाट निश्चित रकम छुट्याएर पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने गरि दिर्घकालिन योजना सुरुवात गर्न सुझाव दिइएको थियो । आयोजक पक्षबाट सो सुझावलाई निकै सकारात्मक रुपमा लिएको बताउदै त्यसका लागि ठोस योजना तयार पारेर  कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिएको थियो ।
मेला मुल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठले संघले आगामी दिनमा काम गर्ने क्रममा प्राप्त सुझाव र सल्लाहालाई मार्ग दर्शकका रुपमा ग्रहण गरेको बताउदै संघले यस क्षेत्रको पर्यटनको संबद्र्धन र प्रचारका लागि देखिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मेला आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालको सञ्चालनमा भएको कार्यक्रममा संघ पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेल, निर्वतमान अध्यक्ष मोतीलाल पाण्डे, विष्णु प्रसाद श्रेष्ठ, भरत केसी, होमराज वस्याल, जोगलाल विश्वकर्मा, शान्तराम चौधरी, टिकाराम बञ्जाडे लगायत बोल्नु भएको थियो ।
यसैगरि मेला सञ्चालनमा आवश्यक्त सल्लाहा सुझाव संकलनका लागि शुक्रवार विहान जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल बैठक राखिएको छ ।

 

प्रतिकृया दिनुहोस