स्वास्थ्य/शिक्षा

जनजागृति माविले गुल्मीकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ: श्रममन्त्री विष्ट

काठमाडौं ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले छत्रकोट गाउँपालिका स्थित हुँगाको जनजागृति माविको विकासका लागि सहयोग गर्ने प्रतिवद्ता जाहेर गर्नुभएको छ ।

स्वर्ण महोत्सव मनाउने तयारीमा रहेको जनजागृति माध्यामिक विद्यालयको मुल समारोह समितिका पदाधिकारीहरुसँग सिहंदरवारमा भएको भेटमा मन्त्री विष्टले हुँगाको जनजागृति माविले गुल्मीकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

हुँगाको माविले गुल्मीको शैक्षिक क्षेत्रमा धेरै योगदान गरेको छ,त्यहाँ पढेका विद्यार्थी मुलुकको समेत उच्च तहमा पुगेका छन–श्रममन्त्री विष्टले भन्नुभयो–त्यो विद्यालयको विकासका लागि मैले पनि सहयोग गर्नेछु र उपयुक्त समय मिलाएर आफै हुँगा आउनेछु । स्वर्ण महोत्सवकै बेला आउने मन भएपनि त्यो समयमा आफू बिदेश हुने भएकोले फर्केपछि समय मिलाएर हुँगा पुग्ने मन्त्री विष्टको भनाइ छ ।

गुल्मी क्षेत्र नम्वर २ का सांसद समेत रहेका मन्त्री विष्टसँगको भेटमा विद्यालयको टोलीले गुल्मीको शैक्षिक क्षेत्रमा योगदान दिएको विद्यालयको भौतिक पुर्वाधार कमजोर रहेको, आर्थिक रुपमा विद्यालय पछाडि परेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । स्वर्ण महोत्सव सफल पार्न सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा समेत उनीहरुले आग्रह गरेका थिए ।

विसं २०२४ सालमा स्थापना भएको जनजागृति माविले आगामी पुस एक देखि पाँच गतेसम्म भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदै छ । मन्त्री विष्टसँगको भेटमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक महेश्वर भण्डारी, उपसयोजक यमलाल भण्डारी, छत्रकोट गाउँपालिका वडा नम्वर १ का अध्यक्ष धातानन्द भण्डारी, विद्यालयका प्रधानाध्यापक कमला भण्डारी, स्मारिका प्रकाशन उपसमितिका रणबहादुर पल्ली, आर्थिक व्यवस्थापन उपसमितिका बिष्णुप्रसाद भण्डारी, हुँगेली समाजका महासचिव नुर भण्डारी, सचिव रामकृष्ण भण्डारी लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको योगदान र अहिलेको अवस्थाबारे मन्त्री विष्टलाइ जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस