अन्तरवार्ता/दृष्टिकोण

लुम्बिनीमा पञ्चशील पालना

गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट नामकरण गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । बुद्ध धर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रण हो । यो सामान्य बौद्धहरूले पालना गर्नुपर्ने न्यूनतम नियम हो ।
पञ्चशील बौद्धजनका लागि अनिवार्य भए पनि अरूसँग असम्बन्धित भने होइनन् । पञ्चशील क्षेत्र घोषणालाई अन्यथा लिनु हुँदैन ।

Yamaha
लुम्बिनी नेपाली गौरव हो । तत्कालीन कपिलवस्तु गणराज्य अन्तर्गत पर्ने लुम्बिनी वनमा ईशापूर्व ५६३ वैशाख पूर्णिमाका दिन भगवान गौतम बुद्धको जन्म भएको थियो । कालान्तरमा यो क्षेत्र बौद्धहरूका लागि तीर्थस्थल बन्यो । स्वयं बुद्धबाट यस क्षेत्रलाई अत्यन्त सम्वेदनीय स्थलका लिनुपर्ने आज्ञा भएको थियो ।

उति बेलादेखि बौद्धहरूले यसलाई सम्वेदनीय स्थलकै रूपमा ध्यान भावना तथा भगवानप्रति श्रद्धा अर्पण गर्दै आइरहेका छन् । लुम्बिनी त्यहाँ निर्माण भएका संरचनाका कारण पुरातात्त्विक महत्त्वको क्षेत्र बनेको छ । ऐतिहासिक, सांस्कृतिक तथा मानवीय मूल्यका आधारमा महत्त्व दिई संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । अहिले अन्य धर्मावलम्बीका लागि पनि लुम्बिनी आकर्षणको केन्द्र हुनथालेको पाइन्छ ।

लुम्बिनीलाई भूगोलको एउटा टुक्रा वा पर्यटकीय स्थलका रूपमा मात्रै बुझ्नु र बुझाउनु ठूलो भुल हुन्छ । यस क्षेत्रले ग्रहण गरेको अर्थ भगवान गौतम बुद्धको जन्मस्थल हो । बौद्ध बाहेक अन्यले पनि सोही अर्थमा यसलाई महत्त्व दिने हुन् । बुद्ध र बौद्ध विषय–वस्तुबारे जान्ने–बुझ्ने मनसायले तिनीहरू बौद्ध स्थलमा आउने हुन् । लुम्बिनी लगायत बौद्ध स्थललाई बौद्ध वातावरणले युक्त गर्नुपर्छ ।

लुम्बिनीको अवस्था सधैं एकनासको पाइएन । कुनै बेला राजकीय उद्यानका रूपमा रहेको लुम्बिनी वन पछि धार्मिक क्षेत्र हुनपुग्यो । पछि उजाड मात्र भएन, विस्मृतिको गर्तमै विलिन हुन पुग्यो । प्राप्त साहित्यका आधारमा खोजी कार्य हुँदा सम्राट अशोकद्वारा राखिएको अभिलेख सहितको शिलास्तम्भ भेटिएपछि लुम्बिनीको पहिचान यस स्थलमा भएको हो ।

लुम्बिनीको पहिचान भएर समाचार संसारभर फैलिसक्दा पनि यसको संरक्षण तथा विकासमा खासै ध्यान पुर्‍याउन सकिएको थिएन । यस्तो परिस्थितिमा विश्वले नेपालप्रति गुनासो गर्ने तथा चित्त दुखाउने कार्य पनिनभएको होइन ।

सन् १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनी भ्रमण गरी त्यहाँको वस्तुस्थितिमा चिन्ता व्यक्त गर्दै विकासका लागि तत्कालीन राजा महेन्द्र समक्ष अनुरोध गर्नुका साथै आफ्नै पहलमा अन्तर्राष्ट्रियकरण गरेपछि लुम्बिनीको विकासले गति लिएको मान्नुपर्छ ।

लुम्बिनीको विकासका सवालमा संयुक्त राष्ट्र संघकै पहलमा गुरुयोजना बनेको थियो । सो गुरुयोजना अनुरूपका विकास निर्माण ढिलै सही तर भइरहेका छन् । यसको रेखदेख गर्न लुम्बिनी विकास कोष नामक एउटा स्वायत्त संस्था पनि छ ।

प्रबुद्ध बौद्ध जगतले भौतिक निर्माणमा मात्र नभएर अन्य कुरामा पनि ध्यान दिनुपर्नेमा पहिल्यैदेखि जोड दिँदै आइरहेको थियो । लुम्बिनी जाने बाटोको रक्सी कारखाना चर्को विरोधपछि हटाइयो । यस क्षेत्रमा गर्नुपर्ने थुप्रै काम छन् ।

लामो समयको बहुपक्षीय सहकार्य र सम्झौतापछि लुम्बिनी सांस्कृतिक नगरपालिका तथा लुम्बिनी विकास कोषले पञ्चशील क्षेत्र घोषणा गरिएको हो । यसको कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्छ । यस क्षेत्रमा पञ्चशील पालनालाई ध्यान दिनुपर्छ भन्ने बौद्ध जनकोठूलो माग थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गर्नु र त्यसको कार्यान्वयन गर्नु एक तहको कार्य हो । अर्को तहको कार्य नीति–नियमले नभएर व्यक्ति आफै शील पालनामा लाग्नु हो । जमिनमा पाइला टेक्दा घोच्छ भनेर पूरा जमिनमा मुलायम सामग्री ओछ्याउन गार्‍हो होला, तर व्यक्तिले जुत्ता लगाएर हिँडे समस्या समाधान हुन्छ । यो प्रज्ञासँग पनि सम्बन्धित कुरा हो । नगरपालिकाले पूरा क्षेत्रलाई पञ्चशील क्षेत्रबनाउने महत्त्वाकांक्षी घोषणा गरेको छ । पञ्चशील पालना गर्न उत्साहित पार्ने दायित्व अब नगरपालिकाको हो ।

पञ्चशीलका सन्दर्भमा बौद्ध जगतभित्रै पनि अतिवादी प्रवृत्ति पाइन्छ, जसबारे स्पष्ट हुनु आवश्यक छ । कसले कति शील पालना गर्‍यो वा गरेन भनेर चियोचर्चा गर्दै हिँड्ने प्रवृत्ति सही होइन । यही कुरालाई लिएर आरोप–प्रत्यारोप गर्दै हिँड्दा द्वेषभावना विकास हुनुका साथै मैत्रीपूर्ण वातावरण सिर्जनामा नकारात्मक असर पर्छ । शील पालना गर्नलाई हो, देखाएर हिँड्न होइन भन्ने कुरा सदैव मनमा राख्नुपर्छ ।

एक व्यक्तिले एकैचोटी सबै शील अक्षरश: पालना गर्नैपर्छ भन्ने मान्यता राम्रै भए पनि व्यावहारिक होइन । हेर्दा पाँचवटा नियमजस्तो लाग्छ, तर पालना गर्ने बेला जीवनका कति धेरै पक्षलाई समेटेको हुन्छ भन्ने अवबोधि हुन्छ । यो पक्का हो, एउटा शीलको पालनाले अर्को शीलको पालनामा सघाउ पुर्‍याउँछ र शील पालनाले जीवनका धेरै कुरामा सकारात्मक परिवर्तन ल्याउँछ । यसलाई अन्य नीति–नियमजस्तो दण्ड–जरिवाना तथा नसिहतको माध्यमबाट पालना गराउन सकिन्न ।

शीलको प्रचार–प्रसार गर्ने, पालनामा जोडतथा प्रोत्साहन दिने गर्नाले सकारात्मक परिवर्तन हुन्छ । सबै शील पालना गर्न नसकिए पनि जति सकिन्छ, त्यति पालना गर्दै जानु र त्यसबाटप्राप्त सकारात्मक परिवर्तनबाट प्रोत्साहित भएर अरू थप शील पालनामा अग्रसर हुनु व्यावहारिकपक्ष हो । उदाहरणका लागि विगतमा जीव हत्यालाई घटाउँदा जुन आत्मसन्तुष्टि प्राप्तहुन्छ, त्यसले जीव हिंसाबाट विरक्त हुन धेरै मात्रामा सघाउने हुन्छ ।

गोरखा जिल्लाको उत्तरी भेगस्थित चुम उपत्यकामा पञ्चशील पालनाको अभ्यास स्मरणीय छ । बौद्ध धर्मावलम्बीको बर्चस्व रहेको त्यस उपत्यकामा पञ्चशील पालनामा जोड दिइनु स्वाभाविक हो ।

उपत्यकामा सबै शीललाई कडाइका साथ लागु नगरिए पनि पहिलोजीवहिंसा नगर्ने शीललाई भने सयौं वर्ष अघिदेखि पालना गरिएको छ । यही कुरा उपत्यकाको पहिचान बनेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्रका रूपमा घोषणा गरिनुले विश्वभरको बौद्ध जगतमा तरङ्ग ल्याउँछ । पञ्चशील पालनाले सकारात्मक परिवर्तन ल्याउनेमा शंका छैन । पुरै क्षेत्रमा मैत्रीपूर्ण वातावरण, भ्रष्टाचार तथा अनाचारको जरै उखिलिनु आमूल परिवर्तन हो । यो अभ्यासले अन्यत्र पनि प्रभाव पर्दै जान्छ । तर सस्तो लोकप्रियताका लागि पञ्चशीलको कुरा गरेको भए, त्यो जतिको लज्जास्पद अरू हुँदैन ।

(कान्तिपुरबाट)

प्रतिकृया दिनुहोस