राष्ट्रिय

अर्थमन्त्री डा. खतिवडालाई बर्खास्त गर्न नेकपाका सांसदको प्रधानमन्त्रीसँग माग


बुटवल ।
नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले नै अर्थमन्त्री डा युवराज खतिवडालाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्।
प्रधानमन्त्रीको सांसदहरूसँगको नियमित छलफलका क्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रदेश ५ सांसदहरूले आज अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन्। प्रधानमन्त्रीले नियमित रुपमा नेकपाका सांसदहरू र कार्यकर्ताहरूसँग भेटघाट र छलफल गर्दै आउनु भएको छ ।
 सांसदहरुले प्रधानमन्त्रि ओलीसंग लोकप्रिय प्रधानमन्त्रीले ल्याएको बजेट नै अलोकप्रिय भएको टिप्पणी गरेका थिए ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले सरकारको कामकारबाहीमा जनता सन्तुष्ट हुन नसकेको बताउदै सरकारले जनतालाई विकास र समृद्ध राष्ट्र हुन्छ भनेर विश्वस्त पार्नुपर्ने बताउनु भयो। उहाले भन्नुभयो ुदुई तिहाई बहुमत प्राप्त लोकप्रय प्रधानमन्त्रीले ल्याएको बजेट अलोकप्रिय भयो। यस्तो बजेटले सरकारको छबी राम्रो बन्दैन।ु अर्थमन्त्रीप्रति चरम असन्तुष्ट देखिएका उनले थपिन्, ुसरकारले ल्याएको बजेटबाट जनता असन्तुष्ट छन्, जनतालाई कसरी सन्तुष्ट पार्नु पर्छ अब सरकारले सोच्नै पर्छ। अर्थमन्त्रालयले गरेका कामबाट हामी सन्तुष्ट छैनौँ, यदि सकिन्छ भने अहिलेका अर्थमन्त्री परिवर्तन गर्नुपर्छ।ु त्यसैगरी सांसद सोमप्रसाद पाण्डेले यातायात क्षेत्रामा रहेको सिन्डिकेट हटाउने र सिन्डिकेटधारीलाई कारबाही गर्ने भनेपनि कार्यान्वन हुन नसकेकोप्रति प्रधानमन्त्रीसमक्ष असन्तुष्टी पोख्नुभयो ।  काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्छौँ भनेर सरकारले दाबी गरेको तर त्यसो हुन नसकेको पाण्डेको भनाइ थियो।
सांसदहरूको धारणा सुनेनेपछी प्रधानमन्त्री ओलीले जवाफमा पार्टी एकताको काममा व्यस्त हुनुपरेकाले सरकारका काम कारबाही सन्तुलित ढंगले अगाडि बढ्न नसकेको स्वीकार गर्नु भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दाबी गर्दै अब जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पार्टीका सांंसदहरुलाई आश्वस्त पार्नु भएको थियो ।

प्रतिकृया दिनुहोस